सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका १ स्थित गोविन्द चोकमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् ।
मंगलबार राति स १ त ४९७२ नम्बरको ट्याक्टरले प्र २–०१–००१ प ३१३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रूपनी गाउँपालिका १ रूपनी बजार निवासी २५ वर्षीय मो. आजद मियाँको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, मोटरसाइकलमा सवार अर्का एक जना गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) पठाइएको छ ।
प्रहरीका अनुसार, घटनापछि ट्याक्टर चालक फरार रहेका छन् र हाल उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।




