जनकपुर । धनुषा जिल्लामा बुधबार साँझ र राति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना साइकलयात्री घाइते भएका छन् ।
गणेशमान चारनाथ नगरपालिका ५ रातामाटास्थित सडकमा ना ६ ख ३२९९ नम्बरको टिपरको ठक्करबाट ४० वर्षीय पैदलयात्री राजेश्वर थापाको घटनास्थलमै मृत्यु भएको हो । उनी सोही ठाउँका स्थायी बासिन्दा थिए । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
त्यसैगरी, धनुषाधाम नगरपालिका ६ मालटोलस्थित सडकमा बुधबार बेलुकी ना १ ज ७०४९ नम्बरको विङ्गर गाडीले साइकलयात्री ६० वर्षीय बिन्दे साह सुडीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।
मिथिला नगरपालिका ४ का स्थायी बासिन्दा सुडीको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार विङ्गर गाडी अनियन्त्रित भई सोही ठाउँमा छेउमा रोकी राखिएको ना ६ ख ३२९९ नम्बरको ट्रकमा ठोक्किएको थियो । त्यसपछि गाडीले दुई साइकलयात्रीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा अर्का एक जना साइकलयात्री घाइते भएका छन् र उनको जनकपुरस्थित रामा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले दुवै घटनाका विषयमा अनुसन्धान जारी राखेको जनाएको छ ।




