धनुषा । धनुषा जिल्लाको मिथिला नगरपालिका ६ स्थित सडकमा भएको सवारी दुर्घटनामा एक पैदलयात्रीको ज्यान गएको छ । शुक्रबार राति ढल्केवरबाट महेन्द्रनगरतर्फ गइरहेको हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट सिराहा जिल्ला धनगढीमाई नगरपालिका ६ बसनपुर निवासी ५५ वर्षीय बिन्देश्वर महराको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका महरालाई तत्काल उपचारका लागि मोडल अस्पताल, लालगढ लगिएको थियो । तर, उपचारका क्रममा उनको ज्यान गएको धनुषा प्रहरीले जनाएको छ । घटनापछि ठक्कर दिने सवारी साधन फरार भएको छ भने प्रहरीले सवारी र चालकको पहिचान तथा खोजी कार्य जारी राखेको जनाएको छ ।
स्थानीय बासिन्दाले राजमार्गमा रातको समयमा सवारी साधनको तीव्र गति र सुरक्षा व्यवस्थाको अभावले यस्ता दुर्घटना बढिरहेको जनाएका छन् । प्रहरीले सर्वसाधारणलाई सडक पार गर्दा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।




