सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका ४ कपल चोकस्थित सडकमा ट्याक्टरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । आइतबार दिउँसो प्र २–०३–००१ त २९५७ नम्बरको ट्याक्टरले साइकलयात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका चन्द्रनगर गाउँपालिका ६ बसवरीया निवासी ६५ वर्षीय लक्ष्मी राउतको उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनापछि गम्भीर घाइते भएका राउतलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । तर, अस्पतालमा उपचारको क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुर्घटना गराउने ट्याक्टरका चालक भने फरार रहेको र हाल उनको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । घटना बारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




