सिरहा । मधेसका चर्चित कलाकार अभिनास झा उर्फ कलकतियाबालीकी पत्नी अँसा सदा जनकपुरस्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । जनकपुरधाम उपमहानगरपालिका १२ र २० को सीमाक्षेत्रमा पर्ने नोचा पोखरी नजिकको घरमा सोमबार राति उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले पुष्टि गरेको छ ।
गत माघ महिनामा अन्तरजातीय विवाह गरेका अभिनास झा र अँसा सदा सामाजिक सञ्जालमा खुसीसाथ गृह प्रवेश गरेका तस्वीरहरू शेयर गर्दै आएका थिए । सामाजिक सञ्जालमा निकै सक्रिय यी जोडीको वैवाहिक जीवनमा पछिल्लो १०/११ दिनदेखि सम्बन्धमा तनाव देखिएको प्रहरी स्रोतको भनाइ छ ।
घटनापछि जनकपुरधामको नोचपुरस्थित सुटिङ स्थल नजिकै ठूलो संख्यामा सर्वसाधारणको भीड लागेको छ । प्रहरीको टोलीले घटनास्थल नियन्त्रणमा लिई कानुनी प्रक्रिया अगाडि बढाएको छ ।
धनुषा प्रहरीका प्रवक्ता डीएसपी वरुण बहादुर सिंहका अनुसार मृतक अँसा सदाको माइती पक्ष सम्पर्कमा नआएकोले अहिलेसम्म पोष्टमार्टमको प्रक्रिया अघि बढाउन सकिएको छैन । उनी आत्महत्या गरेकी हुन सक्ने प्रारम्भिक अनुमान गरिए पनि प्रहरीले पोष्टमार्टम बिना पुष्टि नगर्ने स्पष्ट पारेको छ ।
चर्चित कलाकार झा अहिले मानसिक रूपमा अत्यन्त तनावमा रहेका कारण बयान दिन सक्ने अवस्थामा नरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटना बारे गम्भीरताका साथ अनुसन्धान सुरु गरिसकेको छ भने मृतकको माइती पक्ष आएपछि पोष्टमार्टम प्रक्रिया अगाडि बढाइनेछ ।
यो घटना झनै रहस्यमय बन्दै गइरहेको छ, जसले समाजमा अन्तरजातीय विवाहपछि देखिने पारिवारिक तनाव र दबाबको बहस पुन: चर्काउने सम्भावना बढाएको छ ।




