सिराहा । सिराहाको विभिन्न स्थानमा मंगलबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी एक वृद्धा र एक बालिकाको ज्यान गएको छ । पहिलो घटना भगवनपुर गाउँपालिका १ बलान पुल स्थित सडकमा भएको हो ।
ना ३४ प ४२४१ नम्बरको मोटरसाइकल र स ८ प ७०१८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा ७८ वर्षीया कलवतीया देवी यादवको मृत्यु भएको छ । उनी सखुवानान्कारकट्टी गाउँपालिका ५ महेशबारी निवासी हुन् ।
दुर्घटनापछि गम्भीर घाइते भएकी यादवलाई प्रादेशिक अस्पताल लहान लगिएको थियो, तर उपचारका क्रममा उनको निधन भयो । सोही मोटरसाइकलमा सवार अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन् र उनको अस्पतालमै उपचार भइरहेको छ ।
प्रहरीले स ८ प ७०१८ नम्बरको मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । यस्तै दोस्रो घटना लहान नगरपालिका ३ बिहारपुर स्थित सडकमा भएको हो ।
स १ त ४०९९ नम्बरको ट्याक्टर ब्याक गर्ने क्रममा स्थानीय ३ वर्षीय सुजीता सदायलाई किच्दा गम्भीर घाइते भएकी बालिकाको प्रादेशिक अस्पताल लहानमा उपचारका क्रममा मृत्यु भएको हो । उनका बाबु २३ वर्षीय संजय सदाय हुन् । प्रहरीले ट्याक्टर चालकलाई पनि नियन्त्रणमा लिएको छ र दुवै घटना बारे थप अनुसन्धान भइरहेको जनाएको छ ।




