रौतहट । रौतहटको गौर नगरपालिका १ स्थित भन्सार कार्यालय अगाडिबाट स्रोत नखुलेको १० लाख ४ हजार ५ सय रूपैयाँसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौर नगरपालिका १ ट्रान्सफर्मर चोक बस्ने ३० वर्षीय मोहम्मद करमान अली रहेका छन् ।
बिहीबार दिउँसो भारतको बैरगनियाबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एई ६७०५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरीले मोटरसाइकलको सिट मुनि र हेल्मेटमा लुकाई राखिएको नगद फेला पारेको हो ।
स्रोत नखुलेको सो रकमसहित अलीलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय, रौतहटमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार उक्त रकम भारतबाट अवैध रूपमा भित्र्याइएको आशंका गरिएको छ र यस सम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ ।




