पर्सा । पर्साको पसगढी नगरपालिका ६ का वडाध्यक्ष नवलकिशोर कलवार अभद्र व्यवहार अभियोगमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार वडाध्यक्ष कलवारलाई बुधबार जिल्ला अदालत पर्सामा खटिएका सुरक्षाकर्मीहरूसँग विवाद गर्दै अपमानजनक व्यवहार गरेपछि पक्राउ गरिएको हो ।
वडाध्यक्ष कलवार जिल्ला अदालतमा एउटा मुद्दाको सिलसिलामा उपस्थित हुन पुगेका थिए । अदालतको द्वारमा खटिएका सुरक्षाकर्मीहरूलाई अपशब्द प्रयोग गर्दै विवाद गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले कलवारविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ । स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका वडाध्यक्ष कलवारको यस घटनापछि थप कानुनी कारबाही अघि बढ्ने पर्सा प्रहरीले जानकारी दिए ।




