बारा । बारा जिल्लाको परवानीपुर गाउँपालिका ५ बहुअरीबाट शनिबार बिहान प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट करिब २ सय १२ किलो ९ सय २८ ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका४ पालुङका २८ वर्षीय रबि कार्की, सोही नगरपालिका १२ टिसटुङका ४६ वर्षीय बिरबहादुर गोले, हेटौंडा उपमहानगरपालिका १४ उत्तरपानीका २३ वर्षीय साजन मुक्तान र धादिङ थाक्रे गाउँपालिका ७ आपसी चोकका ३१ वर्षीय महेश तामाङ रहेका छन् ।
प्रहरीका अनुसार हेटौंडाबाट बारातर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ४६३० नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा उक्त गाँजा फेला परेको हो । गाँजालाई धानको भुसका बोराभित्र लुकाएर लादिएको थियो । गाडीका चालक रबि कार्कीसहित अन्य तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।
उक्त पक्राउ जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालय प्रसौनी र इलाका प्रहरी कार्यालय सिमराको संयुक्त टोलीले गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




