सिरहा । सिरहाको प्रादेशिक अस्पतालमा डाक्टरको लापरवाहीका कारण एक १० वर्षीय बालकको ज्यान गएको आरोप लगाउँदै मृतकका परिवार र आफन्तजनले अस्पतालमा प्रदर्शन गरेका छन् । सिरहा नगरपालिका ६ बस्पिट्टाका राजन महरा नामका बालकको ज्यान गएको हो ।
लामो समयदेखि ज्वरोले पीडित बालकलाई उपचारका लागि अस्पताल लगिएको थियो । तर, परिवारका अनुसार चिकित्सकले समयमा उपचार नगरेका कारण बालकको मृत्यु भएको हो । मृतकका आफन्तहरूले चिकित्सकको गम्भीर लापरवाही भएको भन्दै अस्पताल घेराउ गरी प्रदर्शन गरेका छन् ।
आक्रोशित भिडले अस्पताल परिसरमा होहल्ला र तालाबन्दीसमेत गरेका थिए । “समयमै डाक्टर आएर उपचार गरेको भए हाम्रो बच्चा बच्थ्यो,” मृतकका एक आफन्तले भने, “घण्टौँसम्म डाक्टर नआएपछि हामी आफैं भित्र गयौं, तर तबसम्म बच्चाको अवस्था गम्भीर भइसकेको थियो ।” बालकको शव हाल पनि अस्पतालमै राखिएको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले अस्पताल परिसरमा सुरक्षा व्यवस्था मिलाएको छ । अस्पताल प्रशासनले भने घटना बारे छानबिन भइरहेको जानकारी दिएको छ । स्थानीयवासी र पीडित परिवारले दोषी चिकित्सकविरुद्ध कडा कारबाही र न्यायको माग गरेका छन् । स्थिति थप नबिग्रियोस् भनेर जिल्ला प्रशासन र अस्पताल व्यवस्थापनले वार्ता प्रक्रिया अघि बढाएको बताइएको छ ।




