जनकपुरधाम । धनुषा प्रहरीले लागुऔषध ओसारपसार र सामाजिक सञ्जालमार्फत ब्ल्याकमेलिङमा संलग्न दुई फरक अभियोगमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरहरी रेग्मीले घटनाका विस्तृत विवरण सार्वजनिक गरेका हुन् ।
भारतको जयनगरबाट लागुऔषधसहित नेपाल प्रवेश गरेका सिरहा जिल्लाको कल्याणपुर नगरपालिका ४ का २० वर्षीय कृष्ण ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो ।
जनकनन्दनी गाउँपालिका १ स्थित ईनर्वा कमला बाँध नजिकैको सडक खण्डमा नियमित चेकजाँचका क्रममा प्रहरीले रोकेको मोटरसाइकलबाट फरार हुन खोज्दा उनलाई नियन्त्रणमा लिइएको थियो ।
खानतलासी गर्दा उनलाई साथबाट पोको पारिएको अवस्थामा ४९.५९ ग्राम खैरो हेरोइन जस्तो देखिने लागुऔषध फेला परेको प्रहरीको दाबी छ । हाल उनलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको छ ।
त्यस्तै, ठगी, आपराधिक विश्वासघात, आर्थिक लाभ र विद्युतीय अपराध सम्बन्धी कसुरमा धनुषाको औरही गाउँपालिका ५ का ३६ वर्षीय हनिफ नदाफलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ परेका नदाफले पहिचान गोप्य राखिएको एक महिलालाई दुई वर्षदेखि सामाजिक सञ्जाल ‘इमो’ मार्फत नजिकिएर फोटो तथा भिडियो आदानप्रदान गरेका थिए ।
यस्तै पछि ती सामग्रीको प्रयोग गरी उनले पीडितलाई मानसिक तथा शारीरिक यातना दिने, ब्ल्याकमेल गर्दै पाँच लाख रुपैयाँ असुली गरेको प्रहरीले जनाएको छ । नदाफ माथि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको धनुषा प्रहरीले जनाएको छ ।
प्रहरीले नागरिकहरूलाई सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत रहन, अपरिचितसँग व्यक्तिगत जानकारी वा सामग्री साझा नगर्न र शंकास्पद गतिविधि देखेमा तत्काल नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेको छ ।




