बारा । बारा जिल्लाको उद्योगीक क्षेत्र नितनपुरस्थित एक आटा मिलमा १७ वर्षीय किशोरको कुटपिटबाट मृत्यु भएको घटना सार्वजनिक भएको छ । मृतक किशोरको परिवारले घटनामा गम्भीर आपत्ति जनाउँदै हत्या भएको आरोप लगाएका छन् ।
शनिबार राति नितनपुरमा रहेको बजरंगवली आयल इन्डस्ट्रीज (चक्की फ्रेस आटा मिल) मा कार्यरत पर्सा जिल्लाको पोखरिया नगरपालिका १ घर भएका १७ वर्षीय गोपी बैठालाई सामान्य विवादका क्रममा कुटपिट गरिएकै कारण ज्यान गएको आफन्तहरूले बताएका छन् ।
मृतकका भाई कृष्णकुमार बैठाका अनुसार कुटपिटपछि गम्भीर घाइते भएका गोपीको अवस्था जटिल भएपछि प्रहरीलाई जानकारी दिइएको थियो । घटनापछि इलाका प्रहरी कार्यालय सिमराले सोही उद्योगमा कार्यरत दिनेश सिंह, एक जना ड्राइभर तथा मजदुर तेजपाल राठौरलाई नियन्त्रणमा लिएको छ ।
प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानपछि सिंह र चालकलाई रिहा गरिएको छ भने तेजपाल राठौरलाई हिरासतमा राखी आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको छ ।
किशोरको कुटपिटपछि मृत्यु भएको घटनाले स्थानीयवासी र मजदुर समुदायमा आक्रोश फैलिएको छ । पीडित परिवारले दोषीलाई कडा कारबाहीको माग गर्दै निष्पक्ष अनुसन्धानको माग गरेका छन् ।
इलाका प्रहरी कार्यालय सिमराका अनुसार घटनाको सम्बन्धमा विस्तृत अनुसन्धान जारी छ र पोस्टमार्टम रिपोर्ट तथा थप प्रमाणका आधारमा कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ ।




