जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहका काका बासुदेव प्रसाद विमलको छुरा प्रहार गरी हत्या गरिएको छ । बुधबार बिहान जनकपुरधाम उपमहानगरपालिका १५ रामपुर निवासी अन्दाजी ७५ वर्षीय विमलमाथि छुरा प्रहार भएको थियो ।
घटना परिवारभित्रको घरायसी विवादका कारण भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रहरी र प्रत्यक्षदर्शीका अनुसार विमललाई उनका आफ्नै ज्वाइँ बेचन महासेठले छुरा प्रहार गरेका थिए । बेचन उपमहानगरपालिका २१ कुर्थाका स्थायी बासिन्दा हुन् ।
छुरा प्रहारबाट गम्भीर घाइते विमललाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । हत्या पश्चात बेचन घटनास्थलबाट फरार भएका छन् । धनुषा जिल्ला प्रहरी कार्यालयका अनुसार घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको छ र फरार अभियुक्तको खोजी जारी छ ।
प्रहरीले परिवारका अन्य सदस्यहरूसँग बयान लिइरहेको जनाएको छ भने घटनास्थलको सूक्ष्म निरीक्षण गरी आवश्यक प्रमाण संकलनको काम भइरहेको जनाएको छ ।




