सर्लाही । सर्लाहीको बलरा नगरपालिका ८ स्थित गडहिया चोकबाट करिब ८ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजासहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार राति इलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ०५ एस ९६८० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उक्त परिणामको गाँजा फेला पारेको हो ।
गाँजा बोकी सवारी साधनमार्फत भारततर्फ जान खोजिरहेका भारत, सितामढी ग्राम नरहा निवासी २१ वर्षीय रंजेश कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
हाल उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गडहियामा राखिएको छ । प्रहरीका अनुसार सीमावर्ती क्षेत्र हुँदै लागूऔषध ओसार पसार हुने क्रम रोक्न कडाइ गरिएको छ, र सोही अभियान अन्तर्गत यो पक्राउ सफल भएको हो ।




