रौतहट । असार महिना सकिन लाग्दा पनि वर्षा नहुनु रौतहटका किसानका लागि चिन्ताको विषय बनेको छ । रोपाइँको मुख्य समय मानिने असारको अन्तिम सातामा पनि पानी नपरेपछि धान खेती गर्ने किसानहरूमा निराशा देखिएको छ ।
रौतहटको गुजरा, चन्द्रपुर, गरुडा लगायतका क्षेत्रमा अधिकांश खेत वर्षाको भरमा मात्रै जोत्न सकिने भएकाले सिँचाइको विकल्प नभएका किसानहरू अझ बढी समस्यामा परेका छन् ।
एक किसान भन्छन्, ‘असार अन्त्य आउँदै छ, पानीको अत्तोपत्तो छैन । धानको बीउ त तयार छ तर रोपाइँ गर्ने अवस्था छैन । जमिन सुख्खा छ, खेतमा हलो जोत्नै सकिएको छैन ।’
सिँचाइको सुविधा नभएको क्षेत्र बढी प्रभावित
जिल्लाका अधिकांश खेतीयोग्य जमिनमा सिँचाइ सुविधा नहुँदा किसानहरू वर्षाकै भर पर्न बाध्य छन् । तर यो वर्ष वर्षा नहुँदा धान रोपाइँमा ढिलाइ भएको छ ।
खेतीबालीको उत्पादन घट्ने चिन्ता
जिल्लामा धान मुख्य बाली भएको कारण रोपाइँमा ढिलाइले उत्पादनमा गम्भीर असर पर्ने निश्चित छ । कृषि प्राविधिकहरूको भनाइमा यदि साउनको पहिलो सातासम्म पनि पर्याप्त पानी नपरेमा धानको उत्पादन ५० प्रतिशतभन्दा बढीले घट्न सक्छ ।
जलवायु परिवर्तनको असर देखिन थाल्यो
स्थानीय कृषि जानकारहरूका अनुसार मौसमको अनिश्चितता जलवायु परिवर्तनको असर हो । “हिजोआज समयमै पानी पर्ने ग्यारेन्टी छैन । कहिले अत्यधिक वर्षा त कहिले लामो खडेरी,” एक कृषि अधिकृतले भने ।




