महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका ३ स्थित स्मृति पार्क नजिकै ट्रक र अटो एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
ना ६ ख २२५१ नम्बरको ट्रक र प्र २–०२–००१ ह ०२८३ नम्बरको अटो आइतबार राति एकापसमा ठोक्किँदा अटोमा सवार भारतको मोतिहारी जनपुर ४ निवासी ५५ वर्षीय श्रीपुजन गुप्ताको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका गुप्ताको जनसेवा अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा अटो चालक र अटोमा सवार अर्का एक व्यक्ति पनि घाइते भएका छन्, जसको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार ट्रक चालकलाई नियन्त्रणमा लिइएको छ र दुर्घटना बारे थप अनुसन्धान भइरहेको छ ।




