सिराहा । सिराहा जिल्लाको भगवानपुर गाउँपालिका ४ स्थित ठाडी बजारबाट प्रहरीले दुई थान कटुवा पेस्तोल र थ्रिनटथ्री राइफलको दुई राउण्ड गोलीसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बलान बिहुल गाउँपालिका २ डिगीया टोल निवासी ४५ वर्षीय जगदिश यादव रहेका छन् ।
प्रहरीका अनुसार शुक्रबार साँझ ठाडीस्थित सडकमा रोकी राखिएको बा ३० प ५३१९ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा यादवको साथबाट उक्त हातहतियार फेला परेको हो । प्रहरी चौकी ठाडीबाट खटिएको टोलीले मोटरसाइकल तलासी गर्दा पेस्तोल र गोली भेटिएको जनाउँदै यादवलाई नियन्त्रणमा लिएको हो ।
यस घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको छ । सुरक्षा स्रोतका अनुसार अवैध हातहतियार राख्ने कार्य आपराधिक गतिविधिको संकेत हुन सक्ने भएकाले प्रहरीले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।




