सिराहा । सिराहा जिल्लाको कर्जन्हा नगरपालिका २ स्थित सडकमा बिहीबार बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । चन्द्रपुरबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश २–०४–००१ ख ००५६ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा भारत, राजस्थानको ग्राम भेड निवासी २९ वर्षीय छयाल सिंह गम्भीर घाइते भएका थिए । उपचारका लागि फुलकुमारी महतो मेमोरियल अस्पताल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका अन्य दुई जना यात्रुको सोही अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरूको अवस्था मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ । दुर्घटना भएको ट्रकका चालक हाल फरार छन् । प्रहरीका अनुसार चालकको खोजी कार्य तीव्र पारिएको छ । घटना बारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।




