महोत्तरी । गौशाला नगरपालिकाकी उपमेयर रेणु कुमारी महतोको कार्यकक्षमा गरिएको तालाबन्दी सम्बन्धी विवादमा जनकपुर उच्च अदालतले अन्तरिम आदेश जारी गर्दै कुनै अवरोध नगर्न स्पष्ट निर्देशन दिएको छ ।
नगरप्रमुख दिपेन्द्र महतोको नेतृत्वमा बहुमतको आधारमा उपमेयरलाई कार्यकक्ष प्रवेशमा अवरोध गर्दै आएका थिए । सोही विषयमा उपमेयर महतोले क्षेत्राधिकार संरक्षणको माग गर्दै अदालतमा मुद्दा दायर गरेकी थिइन् ।
जनकपुर उच्च अदालतका न्यायाधीश खेमराज भट्टको इजलासले असार ३१ गते अन्तरिम आदेश जारी गर्दै उपमेयर रेणु कुमारी महतोको कार्यकक्ष प्रवेशमा कुनै प्रकारको अवरोध नगर्न नगरपालिकालाई निर्देशन दिएको हो । साथै अदालतले यही साउन १६ गते पेशी तोकेर दुवै पक्षलाई उपस्थिति जनाउन आग्रह गरेको छ ।
अधिवक्ता सुनिल रंजन सिंहद्वारा गरिएको बहसपछि अदालतले आदेश जारी गर्दै कार्यपालिकाका सदस्यको हैसियतले उपमेयरलाई कानुनबमोजिम आफ्नो कार्यकक्षमा मर्यादित वातावरणमा काम गर्न पाउने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ ।
अदालतले नगरपालिकालाई कानुनी दायित्व अनुसार सहयोग गर्न पनि निर्देशन दिएको छ । यसअघि सर्वदलीय छलफलमार्फत उपमेयरलाई काम गर्ने वातावरण सुनिश्चित गरिने प्रतिवद्धता नगरप्रमुख महतोले व्यक्त गरेका थिए । तर, उक्त प्रतिवद्धताबाट पछि हटेपछि उपमेयर महतो अदालत पुगेकी हुन् ।
हाल कार्यकक्षको ताला खोलिएको नगरपालिकाका कर्मचारीहरूले बताएका छन्, तर उपमेयर महतोका अनुसार अझैसम्म काम गर्ने अनुकूल वातावरण बन्न सकेको छैन ।
यसैबीच अदालतको अन्तरिम आदेशको पालना नगरप्रमुख महतोले गर्ने कि नगर्ने भन्ने विषयमा अहिले स्थानीय तहमा चासोको विषय बनेको छ ।




