महोत्तरी । महोत्तरीको बर्दिवास ८ निवासी अरुण थापाको काठमाडौंको जडिबुटीमा असार २२ गते भएको सवारी दुर्घटनापछि उपचारका क्रममा मृत्यु भएको घटनामा प्रहरीको गम्भीर लापरबाही रहेको आरोप मृतकका परिवारले लगाएका छन् ।
दुर्घटनापछि थापालाई उद्धार गरेर अस्पताल लैजाने क्रममा प्रहरीले उनलाई इन्ड्राइभ ट्याक्सीको डिक्कीमा अमानवीय ढंगले कोचिएको अवस्थामा राखेको सिसिटिभी फुटेज सार्वजनिक भएपछि घटनाले थप विवाद उत्पन्न गरेको छ ।
फुटेजमा प्रहरीहरू अगाडि बसेको र गम्भीर घाइते थापा भने ट्याक्सीको पछाडि डिक्कीमा राखिएको स्पष्ट देखिन्छ । यही कारण मृतकका परिवारले थापाको मृत्युको मुख्य कारण प्रहरीको गैरजिम्मेवार र अमानवीय व्यवहार रहेको दाबी गरेका छन् ।
यद्यपि प्रहरीले भने थापालाई भक्तपुर इन्टरनेसनल अस्पताल पुर्याएर उपचार गराइँदै गर्दा चिकित्सकले मृत्यु घोषणा गरेको बताएको छ । मृतकका भाई अनिल थापाले घटनालाई रहस्यमय भन्दै स्वतन्त्र छानबिन समिति गठनको माग गरेका छन् ।
उनले घटनामा संलग्न पक्षबाट सिसिटिभी फुटेजसमेत लुकाउने प्रयास भएको गुनासो गरेका छन् । उनका अनुसार थप सिसिटिभी फुटेज माग्दा अस्पताल र प्रहरीले सार्वजनिक गर्न अस्वीकार गरेका छन् ।
पीडित परिवारले असार २ गते राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गराएका छन् । उजुरीमा प्रारम्भिक सिसिटिभी विश्लेषणका आधारमा प्रहरीद्वारा देखाइएको अमानवीयता र गैरजिम्मेवारी व्यवहार नै थापाको मृत्युको प्रमुख कारण भएको उल्लेख छ ।
परिवारले सरकारसँग घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न, न्याय दिलाउन र उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् । मृतक थापाका श्रीमती र दुई छोरी छन् ।




