पर्सा । सप्तरी र पर्सामा दुई फरक स्थानमा दुई पुरुष मृत अवस्थामा फेला परेका छन् । दुबै घटनाका कारण बारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ४ कुशहाका २७ वर्षीय राम किसुन राय बिहीबार बिहान कोशी नहरको बाटो छेउमा मृत अवस्थामा फेला परेका हुन् । स्थानीयवासीले नहर किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलमा पुगेको प्रहरीले शव नियन्त्रणमा लिई पोस्टमार्टमका लागि अस्पताल पठाएको छ । मृतक रायको मृत्युको कारण खुल्न बाँकी रहेको र घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
त्यसैगरी, पर्साको वीरगंज महानगरपालिका १५ ब्रहम चोकमा सर्लाही बरहथवा नगरपालिका ७ घर भएका ५५ वर्षीय भवन बहादुर रानामगर शुक्रबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
उनी केही समयदेखि वीरगंजमै बस्दै आएका थिए । शवको प्रकृति हेर्दा केही दिनअघिको देखिएको बताइएको छ । प्रहरीले दुबै घटनालाई शंकास्पद मानेर आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।




