रौतहट । रौतहटको मौलापुर नगरपालिका ६ पथराबुधरामस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । आइतबार राति भएको दुर्घटनामा सोही ठाउँका ७५ वर्षीय महेन्द्र राय यादवको ज्यान गएको हो ।
प्रहरीका अनुसार नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका यादवलाई तत्कालै राजेश मेडिकल हल मौलापुर हुँदै थप उपचारका लागि नेशनल मेडिकल कलेज, वीरगंज लैजाने प्रयास गरिए पनि बाटोमै उनको मृत्यु भएको हो ।
दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेको र हाल उसको पहिचान तथा खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको छ ।




