सर्लाही । सर्लाही र रौतहट जिल्लामा शनिबार दुई फरक घटनामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । सर्लाहीको चक्रघट्टा गाउँपालिका ९ खोरिया निवासी ३८ वर्षीय दिनेख ठाकुरको करेन्ट लागेर मृत्यु भएको हो ।
बरहथवा नगरपालिका १५ पिपरा भिट्टास्थित एक वर्कसपमा ग्रिलको काम गर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका ठाकुरको नगर अस्पताल बरहथवामा उपचारको क्रममा शनिबार बेलुकी ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
यता, रौतहटको ईशनाथ नगरपालिका ४ महुलिया टोलकी ५० वर्षीया समिला खातुनको पनि करेन्ट लागेर मृत्यु भएको छ । धानबारीमा धान गोड्ने क्रममा मोटरमा जडान गरिएको विद्युत् तारबाट करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकी थिइन् ।
उनलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको भएपनि उपचारकै क्रममा मृत्यु भएको हो । दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




