बारा । बारा सिम्रौनगढ नगरपालिकास्थित ९ वर्षिया बालिकालाई जबरजस्ती करणीको गम्भीर अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
सिम्रौनगढ नगरपालिका १० देवापुर टेन्टा टोल निवासी ३१ वर्षीय छोटेलाल प्रसाद यादवलाई ९ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङले बताए ।
पिडित बालिकाका परिवारजनले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले यादवलाई नियन्त्रणमा लिएको जनाएको छ । बालिकामाथि यौन दुर्व्यवहार तथा जबरजस्ती करणी गरिएको उल्लेख गर्दै पीडित पक्षले प्रहरीमा उजुरी दर्ता गरेका थिए ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा बालिकामाथि यादवले गम्भीर आपराधिक कार्य गरेको पुष्टि हुन सक्ने देखिएको छ । पक्राउ परेका यादवमाथि हाल कसुर अनुसारको कानुनी प्रक्रिया अघि बढाइएको र थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ ।
यस घटनाले समुदायमा स्तब्धता फैलाएको छ भने स्थानीय स्तरमा बालबालिकाको सुरक्षाका विषयमा चिन्ता बढेको छ । प्रहरीले पिडित पक्षलाई आवश्यक सहयोग र संरक्षण प्रदान गरिरहेको जनाएको छ ।




