रौतहट । लामो खडेरीपछि सक्रिय बनेको मनसुनले रौतहटका किसानहरूमा आशा पलाएको थियो । तर, त्यो आशा केही किसानका लागि तुरुन्तै निराशामा परिणत भएको छ । फतुवा विजयपुर नगरपालिका ५ अन्तर्गतको सन्तपुर दोस्तिया क्षेत्रमा हालैको वर्षाले करिब ४० बिगाहा धानबाली डुबानमा परेको छ ।
लामो प्रतीक्षा पछि वर्षा भए पनि आवश्यक पूर्वाधार र जल निकासको अभावका कारण वर्षा नै बाली नष्ट हुने कारक बनेको हो । स्थानीय किसानहरू अमिर खान, नथुनी तलेवर, सेराज अन्सारी, नुराईन अन्सारी, आबिद अन्सारी, ताहिर अन्सारी लगायतका खेतबारीहरू डुबानमा परेका छन् ।
किसान अमिर खानका अनुसार, “पहिले बाटोमा राखिएको होम पाइपबाट पानी निकास हुँदै आएको थियो । तर अहिले पानी निस्कने मुहान अवरुद्ध भएपछि खेतमा डुबान भएको हो ।” डुबानको मुख्य कारण सडक निर्माण र अव्यवस्थित जल निकास हो ।
कटहरिया–सन्तपुर–कलैया सडकखण्ड अन्तर्गत सन्तपुर चोकदेखि करिब २५० मिटर पश्चिमतर्फको उत्तर दिशामा पर्ने खेतहरूमा पानी जमेको छ । निकासको उचित व्यवस्था नहुँदा पानी खेतबारी हुँदै पूर्वतर्फका बस्तीमा पनि पस्न थालेको स्थानीयले जानकारी दिए ।
“रातभर पानीको डरले न त निद्रा लाग्यो, न त बिहान धान जोगाउने उपाय सोच्न सकियो,” एक स्थानीय बासिन्दाले बताए । यदि पुन: भारी वर्षा भयो भने घरमै पानी पस्ने, खाद्यान्न नोक्सान हुने र जनजीवन थप प्रभावित हुने चिन्ता उनीहरूले व्यक्त गरेका छन् ।
यता, वडाध्यक्ष एजाज अहमदले समस्याको समाधानका लागि तत्काल पहल हुने बताएका छन् । उनका अनुसार, विभिन्न राजनीतिक दल, समाजसेवी र स्थानीय बुद्धिजीवीहरूको उपस्थितिमा छलफल भएको छ, र आज सर्वदलीय बैठक बसेर ठोस निर्णय लिने तयारी भएको छ ।
तर, विडम्बना के छ भने घटनास्थल कार्यवाहक मेयर अम्बेया खातुनको गृह वडा भए पनि उनले घटना प्रति कुनै चासो नदेखाएको स्थानीयको आरोप छ । जनप्रतिनिधिको बेवास्ता र मौनताले समस्या समाधानभन्दा झनै जटिल बनाएको स्थानीयवासीहरूको गुनासो छ ।
हालको बाढी संकटले फेरि एकपटक स्थानीय जल व्यवस्थापन र पूर्वाधार निर्माणको कमजोरी उजागर गरेको छ । साना देखिने विकासे पाइप र नालाजस्ता संरचनाको अभावले किसानहरूले महिनौंको श्रम एकै पटकमा गुमाउन बाध्य भएका छन् । सडक निर्माण गर्दा जल निकासको पूर्वानुमान नगर्नु र योजना विहीन निर्माण कार्यले यस्तो संकट निम्त्याएको स्थानीयले बताउँदै आएका छन् ।
मौसमी असन्तुलन, अव्यवस्थित विकास र सरकारी उदासीनताको संगमले रौतहटका किसान फेरि पीडित बनेका छन् । अहिलेको अवस्थामा तत्काल पानी निकासको वैकल्पिक व्यवस्था, स्थायी नाली निर्माण र डुबानपीडित किसानलाई राहत प्रदान गर्ने नीति आवश्यक देखिन्छ । नत्र खडेरीपछि आएको पानी पनि किसानका लागि आशीर्वाद होइन, अभिशाप बन्दै जान सक्छ ।




