सर्लाही । सर्लाहीको बागमती नगरपालिका १० बस्ती टोलमा शुक्रबार दिउँसो कुलोमा डुबेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका दिनेश मलिकका १४ वर्षीय छोरा कृष्ण मलिक रहेका छन् ।
परिवारका अनुसार कृष्ण साथीहरूसँग खेल्ने क्रममा बस्ती टोल नजिकैको सार्वजनिक वनभित्र रहेको कुलोमा नुहाउन गएका थिए । स्थानीयवासीको भनाइ अनुसार नुहाउने क्रममा पानीको गहिरो भागमा पुगेपछि उनी डुबेका हुन् ।
डुबेको केही समयपछि स्थानीयले उद्धार गरी उपचारका लागि स्वास्थ्य संस्थामा लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटनापछि प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।




