सिरहा । सिरहा र धनुषालाई जोड्ने कमला नदीमाथिको ४६९ मिटर लामो पक्की पुलको निर्माण कार्य वि.सं. २०६८ मा सुरु भएपनि १४ वर्ष बितिसक्दा पनि पूर्णरूपमा सम्पन्न हुन सकेको छैन ।
सुरूमा तीन वर्षमै सक्ने योजना रहेको पुल अधुरो भएकाले स्थानीयवासी वर्षौंदेखि यातायात समस्यामा परेका छन् । पुल नहुँदा स्थानीयले बाँस र काठबाट बनाइएका अस्थायी संरचनामा मात्र निर्भर रहनुपर्ने बाध्यता छ ।
यस वर्ष साउन महिनाको तेस्रो साता आएको बाढीले बाँसको अस्थायी पुल बगाएपछि आवतजावत पूर्ण रूपमा रोकिएको थियो । हाल काठको अस्थायी पुल बनाएर आवतजावत सुरु भएपनि दुर्घटनाको जोखिम भने यथावत् छ ।
यस पुलको निर्माण ठेक्का सुरुमा पप्पु–लुम्बिनी जेभीलाई दिइएको थियो । तर पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेपछि बाँकी काम लुम्बिनी बिल्डर्सले लिएको थियो । गत महिना आएको बाढीले पुलका दुई पाया भासिएपछि कम्पनीले आवश्यक मर्मतका लागि बिमा रकम नपाएको भन्दै काम रोकिदिएको छ ।
हुलाकी राजमार्ग निर्देशनालय, जनकपुरका सूचना अधिकारी इञ्जिनियर रञ्जितकुमार रायले निर्माण कम्पनीले म्यादभित्र काम नगरेको भन्दै लुम्बिनी बिल्डर्सलाई समेत कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।
सिरहा ६ का वडाध्यक्ष इन्द्रजित यादवले भने, “पुल नहुँदा बाढीपछि स्थानीयहरू बाँसको भर्याङ चढेर वा डुङ्गाको सहाराले नदी पार गर्न बाध्य छन् ।” अधुरो पुलको कारण कमला नदी पार गर्नु स्थानीयका लागि वर्षेनी एक पीडादायी चुनौती बनेको छ ।
स्थानीयवासी पुल पूरा गरेर तत्काल सञ्चालनमा ल्याउन सरकारसँग जोडदार माग गर्दै आएका छन् ताकि उनीहरू सुरक्षित र सहज यात्रा गर्न सकून् ।




