वीरगंज । नारायणी सिंचाइ व्यवस्थापन कार्यालय, वीरगंज अन्तर्गत वीरगंज महानगरपालिका २७ र बहुदरमाई गाउँपालिकाको सिमानामा अवस्थित तिलावे पुल डेढ वर्षअघि पश्चिमतर्फको पिलर भासिएपछि दुई स्लाब धस्दा स्थानीय आवतजावतमा ठूलो समस्या देखिएको छ ।
पुलको भासिएर बिग्रिएको भागले यात्रुहरूलाई जोखिमपूर्ण यात्रा गर्न बाध्य तुल्याएको छ भने मर्मत तथा नयाँ पुल निर्माणको काम भने अलमलमा परेको छ । पिलर भासिएर स्लाब खस्ने अवस्थाका कारण उक्त स्थानबाट आवतजावत बन्द गरिएको थियो । त्यसपछि पैदलयात्री, साइकल तथा मोटरसाइकल चालकहरू जोखिम मोलेर पुलमाथि यात्रा गर्दै आएका थिए ।
केही दिनअघि मात्र नारायणी सिंचाइ व्यवस्थापन कार्यालयले पुनः डाइभर्सनमार्फत यात्रा खोल्न खोज्दा, पानीको सतह बढेर डाइभर्सन पुरिएपछि मानिसहरू फेरि जोखिमपूर्ण मार्ग अपनाउन बाध्य भएका छन् । हाल पुलको भासिएको क्षेत्र थप कमजोर भएको र स्लाब थप धस्दै गएको छ । स्थानीय वासीहरूले यसबाट दुर्घटना हुने आशंका व्यक्त गरेका छन् ।
नारायणी सिंचाइ व्यवस्थापन कार्यालयका सूचना अधिकारी इन्जिनीयर सुरेश साहका अनुसार, सिंचाइ विभागको प्राविधिक टोलीले गत पुसमा स्थलगत निरीक्षण गरी मर्मतका लागि २५ लाख रुपैयाँभन्दा बढी र नयाँ पुल निर्माणका लागि करिब २१ करोड रुपैयाँ लागत अनुमान प्रस्तुत गरेको छ ।
यो पुल करिब ५० वर्षअघि भारत सरकारको सहयोगमा निर्मित गण्डक नहर अन्तर्गत पर्ने पुल हो । सिंचाइ प्रयोजनका लागि बनाइएको भएपनि हाल सार्वजनिक र निजी सवारी साधनको बढ्दो आवागमनले यसमा जोखिम थपिएको छ ।
पहिले नहरको किनारमा लगाइएका सिसौंका रूखहरू स्थानीयले काटेपछि नहरको किनार कमजोर भएको र वर्षा समयमा किनार फुटेर बाढीको समस्या देखिएको छ । यसबीच सिंचाइ विभागले अस्थायी बेलिब्रिज निर्माण गर्ने योजना अघि सारेको छ ।
सूचना अधिकारी साहका अनुसार, तीन करोड ५० लाख रुपैयाँ लागतमा बन्ने उक्त बेलिब्रिज तीन महिनाभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ । स्थानीय प्रशासनले पुरानो पुलबाट जोखिमपूर्ण यात्रा नगर्न आग्रह गरेको छ भने वैकल्पिक डाइभर्सन मार्गको प्रयोग गर्न स्थानीयलाई अनुरोध गरिएको छ ।




