सर्लाही । सर्लाहीमा प्रहरीले २० किलोभन्दा बढी लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । बिहिबार साँझ करिब ४ बजेको समयमा प्राप्त विशेष सूचनाको आधारमा हरिपुर्वा नगरपालिका ५ स्थित रुपेश साहको पक्की घरमा खान तलासी गरिएको थियो ।
प्रहरी चौकी हरिपुर्वाबाट असई शेख हफ्जुल्लाहको कमाण्डमा ४ जना, जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट इन्स्पेक्टर रविन्द्र कार्कीको कमाण्डमा ११ जना तथा इलाका प्रहरी कार्यालय केशरगंजबाट इन्स्पेक्टर उमाकान्त जोशीको कमाण्डमा ११ जनासहितको संयुक्त टोली खटिएर तलासी गरेको थियो ।
खान तलासीको क्रममा घरको छतमा लुकाई छिपाई राखिएको करिब २० किलो ३४० ग्राम लागूऔषध गाँजा फेला परेपछि सो घरधनी रुपेश साह (४५ वर्ष) र उनकी श्रीमती प्रतिमा कुमारी साह (३५ वर्ष) लाई नियन्त्रणमा लिइएको सर्लाही प्रहरी प्रवक्ता सरोजकुमार राईले जानकारी दिए ।
पक्राउ परेका व्यक्तिहरुलाई बरामद लागूऔषधसहित आवश्यक कानूनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय, सर्लाही पठाइएको प्रहरीले जनाएको छ ।




