जनकपुरधाम । वैवाहिक बलात्कारको मुद्दामा धनुषा जिल्ला अदालतले एक पुरुषलाई ६ महिना कैद र रु. १ लाख क्षतिपूर्ति तिराउने फैसला सुनाएको छ । विवाहको पहिलो सातामै श्रीमतीमाथि जबरजस्ती करणी गरेको ठहर गर्दै न्यायाधीश दिलकुमार वर्देवाको एकल इजलासले यो फैसला गरेको हो ।
पीडित महिला र प्रतिवादीबीच २०७९ वैशाख १४ गते सामाजिक परम्पराअनुसार विवाह भएको थियो । विवाह भएको एक सातापछि वैशाख २१ गते श्रीमानले जबरजस्ती करणी गरेको भन्दै पीडितले केही महिनापछि प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि, २०७९ चैत २१ गते जिल्ला अदालत धनुषामा मुद्दा दर्ता भएको थियो ।
पीडित महिलाले श्रीमानको अन्य महिलासँग सम्बन्ध रहेको कुरा थाहा पाएपछि सोध्दा पटक-पटक डर, त्रास र धम्की दिएर कुटपिट गर्ने गरेको बयान दिएकी थिइन् । उनले २०७९ वैशाख २१ गते राति करिब साढे ९ बजे श्रीमानले छुरा देखाएर आफ्नो मन्जुरीबिना बलजफ्ती करणी गरेको आरोप लगाएकी थिइन् ।
आरोपित श्रीमानले भने आफूमाथि लागेको आरोप गलत रहेको दाबी गर्दै श्रीमतीको बयानलाई अस्वीकार गरेका थिए । उनले श्रीमतीलाई जबरजस्ती करणी नगरेको र आपसी सहमतिमा नै पति-पत्नीको सम्बन्ध रहेको बताएका थिए ।
उनले घटना भएको भनिएको मितिमा श्रीमतीलाई रक्तस्राव भएपछि उपचारका लागि जनकपुर र भारतको सितामढीसम्म लगेको बयान दिएका थिए । उनले श्रीमती माइती गएपछि मात्रै आफूमाथि झुटा जाहेरी दिएको दाबी गरेका थिए ।
दुवै पक्षका वकिलको बहस, पीडित र प्रतिवादीको बयान, चिकित्सकको बकपत्र तथा अन्य प्रमाणको आधारमा न्यायाधीश वर्देवाले प्रतिवादी दोषी ठहर गर्दै यो फैसला सुनाएका हुन् ।
अदालतले दुलहीको विवाह भएको छोटो अवधिमै यो घटना भएको, पीडितलाई उपचारका लागि अस्पताल लगिएको र पीडितको उमेर तथा अवस्थालाई समेत मध्यनजर गर्दै यो फैसला गरेको थियो ।
यस मुद्दामा कुल ३६ वटा पेसी चढेपछि अन्तिम फैसला आएको हो । अदालतले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (४) बमोजिम ६ महिना कैद र दफा २२८ बमोजिम पीडितलाई रु. १ लाख क्षतिपूर्ति भराउने फैसला गरेको छ ।




