सर्लाही । सर्लाही प्रहरीले लागुऔषध गाँजा २५ किलोसहित एक युवकलाई पक्राउ गरेको छ । लालबन्दी नगरपालिका ८ खतिवडा चोकबाट प्रहरीले २० वर्षीय सन्ते ब्लोनलाई पक्राउ गरेको हो ।
लालबन्दी नगरपालिका १४ नारायणखोला कामीटार बस्ने ब्लोनसहित मोटरसाइकल र झोला प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले बताए ।
उनका अनुसार नारायणखोलाबाट पत्थरकोट हुँदै लालबन्दीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४२ प ४०५३ नम्बरको मोटरसाइकललाई रोक्न खोज्दा मोटरसाइकलमा सवार दुई युवक भाग्न खोजेपछी प्रहरीले पछ्याउँदै गएको हो ।
मोटरसाइकल र साथमा भएको झोला छाडेर खेतै खेत भागेका युवकमध्ये कामीटारका ब्लोनलाई पछ्याउँदै जाँदा पक्राउ गर्न सफल भएको र अर्का युवक फरार भएको उनले जानकारी दिए ।
प्रहरीलाई देखेपछि युवकहरुले फालेको झोला भित्रबाट पाँच वटा पोकामा रहेका २५ केजी गाँजा बरामद भएको उनको भनाइ छ । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।




