सिराहा । सिराहामा छुट्टाछुट्टै घटनामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । सिराहा नगरपालिका ४ रमौल बस्ने इद महमदका १५ वर्षीय छोरा मो. अम्मादलाई शनिबार राति आफ्नै घरको कलमा जडान गरिएको विद्युतीय मोटरबाट करेन्ट लागेको थियो ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल सिराहा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै, लहान नगरपालिका १९ कटहा बस्ने ४० वर्षीय कमकलाल सदायलाई शनिबार दिउँसो करेन्ट लाग्दा ज्यान गएको हो ।
आफ्नै घरमा सिटी रिक्सा चार्ज गर्ने क्रममा चार्जर झिक्दा करेन्ट लागेर घाइते भएका उनको कामना अस्पताल लहानमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।




