सर्लाही । सर्लाहीको बरहथवामा उपचारमा लापरबाही भएको आरोपसहित एक दलित युवकको मृत्यु भएपछि आफन्तहरूले शवसहित अस्पताल अगाडि प्रदर्शन गरेका छन् । बरहथवा नगरपालिका ७ दूधडेरी चोकका ३८ वर्षीय प्रमोद पासवानको पेटमा समस्या देखिएपछि बिहीबार बिहान उनी स्थानीय हनुमन्त अस्पतालमा भर्ना भएका थिए ।
दैनिक ज्यालादारी मजदुरी गरेर परिवार पाल्दै आएका पासवानको अवस्था उपचार क्रममा झन् गम्भीर बन्दै गएपछि अस्पतालले बेलुकी करिब ५ बजे अन्यत्र लैजान सिफारिस गर्यो । तर, अस्पताल प्रशासनले ७ हजार रुपैयाँ बिल तिर्नुपर्ने अडान लिएपछि मात्रै बिरामी बाहिर निकाल्न अनुमति दिएको मृतकका आफन्तले आरोप लगाएका छन् ।
आर्थिक अवस्था कमजोर भएकाले तत्काल रकम जुटाउन नसकेपछि आफन्तले स्थानीय व्यापारीमार्फत बिल तिर्ने व्यवस्था गरे । त्यसपछि मात्र पासवानलाई थप उपचारका लागि वीरगन्जतर्फ लैजाने क्रममा अस्पतालबाट करिब पाँच किलोमिटर टाढै उनको मृत्यु भएको उनका भाइ सुबोध पासवानले बताए ।
प्रमोद पासवानको मृत्यु पैसाको अभाव र अस्पताल प्रशासनको असंवेदनशील व्यवहारका कारण भएको भन्दै आफन्तहरूले अस्पतालको मुख्य गेटमा शव राखेर न्यायको माग गरेका छन् । घटनापछि इलाका प्रहरी कार्यालय बरहथवाले अस्पताल प्रशासनसहित उपचारमा संलग्न चिकित्सक डा. खुशनन्दन पाण्डेयलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार पीडित परिवार र अस्पताल प्रशासनबीच छलफलमार्फत समाधान खोज्ने प्रयास भइरहेको छ । यता, डा. पाण्डेयले भने प्रमोद पासवानले अत्यधिक मात्रामा मदिरा सेवन गरेको कारण उनको मृत्यु भएको दाबी गरेका छन् ।




