बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ४ स्थित सिमरामा आइतबार बिहान बाघको आक्रमणमा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका १ का ५८ वर्षीय छेवाङ लामा रहेका छन् ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार लामा बिहान करिब ७ बजे च्याउ टिप्न प्रगतिशील सामुदायिक वनतर्फ गएका बेला बाघले आक्रमण गरेको हो । गम्भीर घाइते भएका लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाँस काट्न गएका स्थानीयले घटनास्थलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी टोली घटनास्थल पुगेको र मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको इलाका प्रहरी कार्यालय बाराले जनाएको छ ।
यसअघि पनि बारा जिल्लामा बाघको आक्रमणबाट जनधनको क्षति हुँदै आएको छ । केही समयअघि मात्र अम्लेखगञ्जमा बाघको आक्रमणबाट तीन जनाको मृत्यु भएको थियो । लगातार यस्ता घटनाले स्थानीयवासी आतंकित बनेका छन् ।
घटनापछि बाघलाई नियन्त्रणमा लिन विभिन्न निकाय सक्रिय भएका छन् । पर्सा राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय बारा, चितवनबाट आएका प्राविधिक टोली, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्रका विशेषज्ञहरू, नेपाल प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ ।
बाघ नियन्त्रणका लागि हात्तीको सहयोगमा डार्टमार्फत बेहोस पार्ने योजना बनाइएको प्रहरीले जनाएको छ । स्थानीयवासीले मानव बस्ती नजिक बाघको गतिविधि बढ्दै गएको भन्दै पटक–पटक निकुञ्ज र सम्बन्धित निकायसँग सुरक्षा व्यवस्था कडा बनाउन माग गर्दै आएका छन् ।




