रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका १ मा अवस्थित प्रसिद्ध नुनथर महादेव मन्दिर पछिल्ला दिनमा अव्यवस्था, अनियमितता र आपराधिक गतिविधिका कारण विवादमा परेको छ । धार्मिक आस्था र श्रद्धाको केन्द्र मानिने यस मन्दिरमा खुलेआम मासु काट्नेदेखि कर असुलीसम्मका गतिविधि भइरहेको भक्तजनहरूले आरोप लगाएका छन् ।
नुनथर महादेव मन्दिर मधेश प्रदेश मात्र नभई सीमावर्ती भारतका हजारौँ भक्तजनहरूको पनि आस्थाको धरोहरका रूपमा परिचित छ । विशेष गरी साउन र भदौ महिनामा बोलबम भक्तजनहरूले बागमती नदीबाट जल ल्याई भगवान् शिवको मूर्तिमा अर्पण गर्ने परम्परा रहिआएको छ । तर पछिल्लो समय पवित्र स्थलको गरिमा मासिन थालेको भन्दै भक्तजन आक्रोशित बनेका छन् ।
भक्तजनहरूको भनाइमा, मन्दिरको प्रवेशद्वारमै कर उठाइने गरेको छ, जसलाई श्रद्धामाथिको खुला व्यापारको रूपमा आलोचना गरिएको छ । कटहरिया ५ का श्रद्धालु रामचन्द्र गोसाईंका अनुसार, दर्शन गर्न जाँदा आफूलाई ठेकदारका मान्छे बताउनेहरूले जबरजस्ती पैसा असुल्ने, पैसा दिन अस्वीकार गर्दा अपशब्द प्रयोग गर्ने र कुटपिटसम्मको धम्की दिने गरेका छन् ।
यस्तै, मन्दिर परिसरभित्रै मासु र मदिरा बिक्री हुने गरेको प्रमाणसहित स्थानीय सञ्चारकर्मी तेजविक्रम कार्कीले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेका छन् । उनले भेटी रकममा पारदर्शिता नभएको आरोप पनि लगाएका छन् । साउन महिनामा सोमबार चढाइने भेटी पुजारीहरूको जीविकोपार्जनको प्रमुख आधार भए पनि उक्त रकम कसरी खर्च हुन्छ भन्ने बारे कुनै विवरण सार्वजनिक नगर्ने आरोपसमेत छ ।
भक्तजनहरूले थप आरोप लगाउँदै भनेका छन्- दर्शन गर्न जानेहरूलाई उच्च स्वरमा धम्क्याएर जबरजस्ती टिकट काट्न बाध्य पारिन्छ । धार्मिक स्थल श्रद्धा र संस्कृतिको प्रतीक हो तर यस्ता गतिविधिले नकारात्मक सन्देश फैलिरहेको उनीहरूको भनाइ छ ।
यसैबीच, मन्दिर परिसर नजिकै दैनिक दर्जनौँ टोली पिकनिक मनाउन आउने गरेका छन् । तर भक्तजनहरूको माग छ- मन्दिरको पवित्रता कायम राख्न पिकनिक स्पटलाई मन्दिर परिसरभन्दा टाढा स्थानान्तरण गर्नुपर्छ ।
स्थानीयवासीका अनुसार, मन्दिर व्यवस्थापन र संरक्षणमा नगरपालिकाले कुनै चासो देखाएको छैन । “नगरपालिका मौन बसेर राजस्व मात्रै खोजेको छ,” सञ्चारकर्मी सञ्जय कार्कीको भनाइ छ । भक्तजनहरूले तत्काल अव्यवस्थित गतिविधि नियन्त्रण गर्न, भेटी रकम पारदर्शी बनाउने र मन्दिर परिसरलाई व्यवस्थित गर्न माग गरेका छन् ।
चन्द्रपुर नगरपालिकाको ऐतिहासिक धरोहरका रूपमा रहेको नुनथर महादेव मन्दिरको संरक्षणमा नगर प्रमुख सञ्जयकुमार काफ्लेले तत्काल ध्यान दिनुपर्ने स्थानीयवासीको जोड छ ।




