रौतहट । रौतहट प्रशासनले जिल्लाभर अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को (क) बमोजिम प्रमुख जिल्ला अधिकारी (सीडीओ) बिनोद कुमार खड्काले अर्को आदेश नआउन्जेलसम्मका लागि कर्फ्यू आदेश जारी गरेका हुन् ।
रौतहट जिल्ला भित्र कसैले आवत जावत गर्न कुनैपनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न नपाउने गरि कर्फ्यू जारी गरेको आदेशमा उल्लेख छ । अहिले गौर, चन्द्रनिगाहपुर र गरुडा लगायतका स्थान नेपाली सेनासहितको सुरक्षाकर्मीले बुधबार बिहानदेखि गस्ती थालेका छन् ।
जेन–जी आन्दोलनका कारण पछिल्लो समय आइपरेको परिस्थितिलाई मध्यनजर गर्दै नेपाली सेनाले गस्ती सुरु गरको हो । नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाको निर्देशन अनुसार सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पतिको सुरक्षाको लागि गस्ती सुरु गरिएको नेपाली सेनाले जनाएको छ ।
यता गौर कारगारबाट मंगलबार राति हुलहुज्जत गरेर २३३ कैदी भागेका छन् । गौर कारगारबाट भागेकामध्ये ३४ जना कैदीबन्दीलाई सुरक्षाकर्मी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीले बताए ।
उनका अनुसार गौर कारागारमा २४ जना बाहेक सबै कारागार तोडफोड गरी भागेका थिए । भागेकाहरुको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।





