रौतहट । गौरस्थित कारागारबाट मंगलबार राति सामूहिक रूपमा फरार भएका कैदीमध्ये १७ जनालाई भारतको सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको छ ।
पक्राउ परेका कैदीलाई बैरगनिया प्रहरीले नेपाल प्रहरीसँग समन्वय गरी पुन: गौर कारागारमा बुझाएको प्रमुख जिल्ला अधिकारी (सिडिओ) विनोद कुमार खड्काले जानकारी दिए ।
हालसम्म २९१ मध्ये ७९ जना कैदी पक्राउ परेका छन् भने अझै २१२ जना फरार रहेको प्रशासनले जनाएको छ । पक्राउ पर्नेमा नेपालतर्फका जितेन्द्र गिरी, गणेश साह, सन्तोष राम, रणधीर यादव, विवेक मिश्र, राजन साह सोनार, अजय यादव, राजेश पटेल र मोहन साह छन् ।
भारततर्फका मोनु जायसवाल, राकेश कुमार, मुनिफ कुमार यादव र सुधीर कुमार महतोसमेत पक्राउ परेका कैदीमा परेका छन् । यसअघि बुधबार मात्रै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले जिल्लाका विभिन्न स्थानबाट ३४ जना फरार कैदीलाई नियन्त्रणमा लिएको थियो ।
सिडिओ खड्काले अझै फरार रहेका २१२ कैदीलाई तत्काल आत्मसमर्पण गर्न आग्रह गर्दै अवज्ञा गर्नेहरूमाथि कठोर कानुनी कारबाही हुने चेतावनी दिए । उक्त दिनकै दिनभर जिल्लामा जेन–जी आन्दोलन उग्र बनेको थियो ।
आन्दोलनकारीहरूले चन्द्रपुर नगरपालिका, इलाका प्रहरी कार्यालय, डिभिजन सडक कार्यालय, डिभिजन वन कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय लगायतका सरकारी भवनमा आगजनी गरेका थिए ।
सुरक्षाकर्मीहरू ती घटनामा व्यस्त रहँदा कैदीहरूले रातिको मौका पारी कारागार भत्काएर सामूहिक रूपमा भागेका थिए ।




