रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले सूचना जारी गर्दै निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरिएको हो ।
आज बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा तथा साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु जारी गरिएको छ । अत्यावश्यक आवत जावतका लागि आज साँझ ५ बजेदेखि ७ बजेसम्मको समय तोकिएको छ ।
निषेधाज्ञा र कर्फ्युको समयमा भेला, जुलुस, सभा, बैठक, प्रदर्शन, पोष्टर पर्चाजस्ता सामाग्री टाँस्न वा लेख्न एवम् शान्ति र व्यवस्थामा असर हुने कुनै पनि कार्य गर्न निषेध गरिएको छ । साथै पाँच जनाभन्दा बढी भेला हुन पनि नपाइने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।





