जनकपुरधाम । दुई दिनसम्म मधेस प्रदेशसहित देशभर चलेको जेन–जी आन्दोलनपछि मधेसका जिल्लाहरू क्रमश: सामान्य जीवनतर्फ फर्किन थालेका छन् । सोमबार भएको शान्तिपूर्ण प्रदर्शन र मंगलबार सरकारी कार्यालय तथा मधेस सरकारका विभिन्न प्रशासनिक भवनमा तोडफोड तथा आगजनी भएपछि लागू गरिएका कर्फ्यू र निषेधाज्ञा क्रमशः हटाइँदै गरिएको छ ।
स्थानीय प्रशासनले शनिबारदेखि आफ्ना नियमित सेवाहरू पुनः सुरु गर्न थालेका छन् । धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार जिल्ला प्रशासन कार्यालय धनुषाले आजदेखि आंशिक सेवा सुचारु गर्ने निर्णय गरेको छ । तर आन्दोलनका क्रममा भवनमा भएको तोडफोड र आगजनीका कारण राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सम्पूर्ण सेवा अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
सिरहामा पनि आंशिक सेवा प्रवाह सुरु हुने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले नयाँ नागरिकता, प्रतिलिपि, राहदानी र राष्ट्रिय परिचयपत्रको सेवा असोज १ गतेदेखि मात्र सुरु हुने जानकारी दिए । बारामा जनजीवन सामान्य बन्दै गएपछि आज बिहान ६ बजेदेखि निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जनाए । उनका अनुसार कार्यालयका सम्पूर्ण सेवा नियमित रूपमा प्रदान गरिनेछ ।
रौतहटमा मंगलबारदेखि लागू गरिएको कर्फ्यू हटाइए पनि शनिबार बेलुकी ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि केही क्षेत्रमा निषेधाज्ञा कायम गरिएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खडकाले जानकारी दिए । पर्सामा पनि निषेधाज्ञा र कर्फ्यू खुकुलो पारिएको छ । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार वीरगञ्ज क्षेत्रमा बिहान ५ बजेदेखि राति ९ बजेसम्म निषेधाज्ञा र राति ९ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू आदेश लागु हुने व्यवस्था गरिएको छ ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले स्थानीय प्रशासन ऐन २०२८ बमोजिम लागू गरिएको कर्फ्यू र निषेधाज्ञा शनिबार बिहान ११ बजेदेखि हटाइएको जनाए । सप्तरीमा पनि कर्फ्यू र निषेधाज्ञा शनिबार बिहान १० बजेदेखि हटाइएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए । सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले भने जिल्लामा लगाइएको कर्फ्यू हटाइएको भएपनि केही क्षेत्रमा निषेधाज्ञा यथावत रहेको बताए ।




