जनकपुरधाम । जेनजीको अगुवाईमा भएको आन्दोलन पछिको प्रदर्शनका क्रममा जनकपुरधाम उपमहानगरपालिका ९ स्थित मधेस प्रदेश लोक सेवा आयोगको कार्यालयबाट लुटिएको हतियारसहित दुई जनालाई आज पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आयोगको कार्यालयमा सुरक्षार्थ खटिएका नेपाल प्रहरीको एकथान एसएलआर राइफलसहित उपमहानगरपालिका वडा नं. ९ का ३७ वर्षीय मनिषकुमार अधिकारी तथा २१ वर्षीय सन्तोषकुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कार्यालय तोडफोड, आगजनी र लुटपाट गर्ने क्रममा प्रहरीसँग रहेको ५० राउण्ड गोलीसहित एकथान राइफलसमेत लुटिएकामा ‘सिसिटिभी’ भिडियोका आधारमा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।
भाडाको घरमा रहेको लोकसेवा आयोगको कार्यालयभित्र चारपांग्रे गाडी चार थान, मोटरसाइकल चार थान, सिसीटिभी क्यामरा र कार्यालयमा तोडफोड तथा आगजनी भएको छ ।




