सिराहा । सिराहा र धनुषामा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । सिराहा नगरपालिका १० पदमपुरका २६ वर्षीय दिपु मण्डलको सोमबार राति करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
आफ्नै घर अगाडि ट्याक्टर धुने क्रममा ट्रली उठाउँदा माथिबाट गएको बिजुलीको तारमा छुँदा उनी गम्भीर घाइते भएका थिए । घाइते मण्डललाई उपचारका लागि प्रादेशिक अस्पताल सिराहा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
यस्तै धनुषाको कमला नगरपालिका ५ तरीया टोलकी ३० वर्षीया संजु देवी यादवको सोमबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरमा मोटर चलाउने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएकी यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याइएको थियो ।
तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




