बारा । बारामा दुई मोटरसाइकल एकआपसमा ठोकिँदा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ । शुक्रबार बेलुकी करिब ७ः४० बजे कलैया उपमहानगरपालिका १४ बघवनस्थित कलैया–बरियारपुर सडकखण्डमा भएको दुर्घटनामा ६ जना घाइते भएका थिए ।
प्रदेश २–०३–०१६ प ४७३ नम्बरको मोटरसाइकलमा चार जना र भारतीय नम्बर प्लेट बीआर ०५ एस ९०९२ मा दुई जना सवार रहेका मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार दुर्घटनामा घाइते भएकामध्ये बीआर ०५ एस ९०९२ नम्बरको मोटरसाइकलमा सवार सिम्रौनगढ नगरपालिका ११ कचोर्वाकी ३७ वर्षीया जुही साह र अर्को मोटरसाइकलमा सवार महागढीमाई नगरपालिका १ का १८ वर्षीय समशाद आलम देवानको उपचारका क्रममा मृत्यु भएको हो ।
जुही साहको शनिबार दिउँसो १ बजे बाराको नौतनस्थित एलएस न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो भने समशाद आलम देवानको सोही अस्पतालमा शनिबार बिहान २ बजेतिर ज्यान गएको हो ।
दुर्घटनामा जुहीका पति ३८ वर्षीय किशोरी साह, उनका दुई छोरा १३ वर्षीय कौशल साह र १२ वर्षीय कृष्ण साह, साथै महागढीमाई १ का १८ वर्षीय अफताब आलम घाइते भएका छन् ।
घाइतेमध्ये किशोरी साहको कलैया अस्पतालमा, उनका छोरा कौशल र कृष्णको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीका अनुसार अफताब आलमको पनि नेशनल मेडिकल कलेजमै उपचार भइरहेको छ र उनको अवस्था गम्भीर रहेको छ ।




