बारा । बाराको जितपुर–सिमरा उपमहानगरपालिका २२ चुरियामाई मन्दिर नजिक बुधबार बिहान बसको ब्रेक फेल भई मोटरसाइकल किच्दा दुई जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।
प्रहरीका अनुसार जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ८५३७ नम्बरको बस बिहान करिब १० बजे हेटौँडा–पथलैया सडकखण्डको उकालोमा पुग्दा अचानक ब्रेक फेल भएपछि पछाडि फर्कियो । सो क्रममा पछाडिबाट आइरहेका दुई वटा मोटरसाइकल बसमा ठोक्किँदा दुवै मोटरसाइकल चेपिएका थिए ।
दुर्घटनामा बारा फेटा गाउँपालिका १ भरवलियाका २५ वर्षीय मकेश्वर पटेल र पर्सा वीरगञ्ज महानगरपालिका ३१ की २६ वर्षीया कविता देवीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।
दुबैलाई उपचारका लागि कलैया प्रादेशिक अस्पताल पुर्याउने क्रममा बाटोमै मृत्यु भएको र दिउँसो १२:१० बजे चिकित्सकले मृत घोषणा गरेको अस्पतालले जनाएको छ ।
घाइते हुनेहरूमा मकेश्वर पटेलकी पत्नी २२ वर्षीया कलिता देवी, २० महिनाकी छोरी तानेया पटेल, अर्को मोटरसाइकलका चालक २७ वर्षीय कञ्चन कुमार पटेल र उनका ३ वर्षीय छोरा आयुष पटेल रहेका छन् ।
उनीहरूको उपचार मकवानपुरस्थित सहकारी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । बस चालक सर्लाही लालबन्दी नगरपालिका ३ का ४७ वर्षीय विश्वनाथ चौधरीलाई इलाका प्रहरी कार्यालय अमलेखगञ्जले नियन्त्रणमा लिएको छ । बस र मोटरसाइकल दुर्घटनास्थलमै रहेका छन् ।
त्यस्तै, बस पछाडि रहेको मप्र ०३–००१ ज ०६६२ नम्बरको ईभी माइक्रो बसको अगाडिको भागमा सामान्य क्षति पुगेको छ । दुर्घटनापछि केही समय सडक अवरुद्ध भएपनि पछि एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।




