रौतहट । दुई दिन परेको अविरल वर्षाका कारण रौतहटको सदरमुकाम गौरका अधिकांश सरकारी कार्यालयहरू डुबानमा परेका छन् । हरेक वर्षजस्तै यस वर्ष पनि कार्यालय परिसरमा वर्षाको पानी पसेपछि प्रशासनिक कामकाज प्रभावित भएको छ ।
जिल्ला प्रशासन कार्यालय, मालपोत, पूर्वाधार, जिल्ला अदालत, नापी कार्यालय, जिल्ला कारागार, प्रादेशिक अस्पताल, प्रजिअ निवास, सरकारी वकिल कार्यालय, कोष तथा लेखा नियन्त्रण, कृषि तथा घरेलु तथा साना उद्योग कार्यालयसहित भन्सार क्षेत्रका कार्यालयहरूमा वर्षाको पानी भरिएको छ ।
बागमती र लाल बकैया नदीमा आएको बाढीका कारण सदरमुकाम क्षेत्रमा पानी पसेको हो । लगातारको वर्षा र कमजोर जलनिकास प्रणालीका कारण हरेक वर्षजस्तै यस वर्ष पनि सरकारी कार्यालयहरू डुबानमा परेका हुन् ।




