रौतहट । अविरल वर्षा र बाढी बीच रौतहटमा एकैदिन तीन बालबालिकाको मृत्यु भएको दुःखद घटना भएको छ । देवाही गोनाही नगरपालिका ६ कर्कच गाउँमा आइतबार दिउँसो खेतको पानी बग्ने ठाउँमा नुहाउने क्रममा बेपत्ता भएकी दुई बालिकाको शव सोमबार फेला परेको हो । मृतकहरूमा १२ वर्षीया आरती राम र ११ वर्षीया अन्तिमा कुमारी राम रहेका छन् ।
स्थानीय रामदयाल रामकी छोरी आरती र शिवधारी रामकी छोरी अन्तिमा आइतबार साँझसम्म घर नफर्केपछि खोजी कार्य सुरु गरिएको थियो । निरन्तर खोजीपछि प्रहरी र स्थानीय टोलीले आरतीको शव सोमबार बिहानै फेला पारेका थिए भने अन्तिमाको शव केही पर जलकुम्भीमा अड्किएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
यसैबीच, राजपुर नगरपालिका ८ बलुवा गोठ टोलका १० वर्षीय अरबाज मिया पनि सोमबार दिउँसो लालबकैया नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएका छन् । मृतक अरबाज स्थानीय गोनउर मियाका छोरा हुन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी राजु कार्कीका अनुसार पछिल्ला दुई दिनयता बाढी र पानीमा डुबेर मृत्यु हुनेको संख्या ४ पुगेको छ, भने चट्याङ लागेर २ जनाले ज्यान गुमाइसकेका छन् ।




