रौतहट । रौतहट र महोत्तरी जिल्लामा छुट्टाछुट्टै घटनामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । १५ वर्षीया बालिका र २४ वर्षीय युवकको करेन्ट लागेर मृत्यु भएको हो ।
रौतहटको बौधीमाई नगरपालिका ८ हनुमान चोकस्थित मोटरसाइकल ग्यारेज सञ्चालन गर्दै आएका सोही नगरपालिका ६ पिपरीया टोलका २४ वर्षीय सन्तोष राय यादवको मंगलबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।
ग्यारेजमा मोटरमार्फत पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका यादवको उपचारका क्रममा स्थानीय चन्द्र ज्योती कान्ती अस्पताल बंकुलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, महोत्तरी गाउँपालिका १ सोनखडाका मोहन यादवकी १५ वर्षीया छोरी सोनाली यादवको पनि मंगलबार साँझ करेन्ट लागेर मृत्यु भएको छ ।
घरमै मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी सोनालीको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




