बारा । बारा र सिराहामा प्रहरीले छुट्टाछुट्टै अभियानमार्फत करिब तीन लाख रुपैयाँ मूल्य बराबरका अवैध पटका बरामद गरेको छ । बाराको पचरौता नगरपालिका २ नहर जाने बाटोबाट मंगलबार राति करिब १ लाख रुपैयाँ मूल्य बराबरका पटका प्रहरीले बरामद गरेको हो ।
प्रहरी चौकी श्रीनगर बैरीयाबाट खटिएको टोलीलाई देख्नासाथ भारतबाट नेपालतर्फ आउँदै गरेका बीआर ०५ एक्स ८८९० र बीआर २१ के १७१२ नम्बरका मोटरसाइकलमा सवार अपरिचित व्यक्तिहरूले पटका छोडी फरार भएका थिए । त्यसपछि प्रहरीले उक्त पटका नियन्त्रणमा लिएको हो ।
त्यस्तै, सिराहाको गोलबजार नगरपालिका ४ गोलचक्रबाट करिब १ लाख ८० हजार रुपैयाँ मूल्य बराबरका विभिन्न किसिमका पटका मंगलबार राति बरामद गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीलाई देख्नासाथ चौहर्वाबाट लहानतर्फ आउँदै गरेका हाल नम्बर नखुलेको मोटरसाइकलका सवार अपरिचित व्यक्ति पटका फाली फरार भएका थिए ।
प्रहरीका अनुसार, हाल फरार रहेका ती व्यक्तिहरूको खोजी जारी छ र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ ।




