वीरगन्ज । वीरगन्ज महानगरपालिकाको नेतृत्वले व्यक्तिगत लाभका लागि वीरगन्ज १ छपकैयामा अवस्थित पानी प्रशोधन केन्द्र बन्द गरी त्यहाँ बाख्रा तथा माछा पालन गराएको खुलासा भएको छ ।
वीरगन्ज सहरबाट निस्कने फोहोर पानीलाई प्रशोधन गर्न निर्माण गरिएको उक्त केन्द्र विगत एक वर्षदेखि बन्द गरिएको पाइएको छ । महानगरपालिकाको नेतृत्वले ऐन कानुनलाई बेवास्ता गर्दै व्यक्तिगत स्वार्थका लागि प्रशोधन केन्द्र प्रयोग गरेको आरोप लागेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग मकवानपुरको टोलीले बुधबार उक्त केन्द्रमा छापा मार्दा बाख्रा र माछा पालन भइरहेको फेला परेको हो । सचेत नागरिकहरूको उजुरीका आधारमा गरिएको छानबिनका क्रममा प्रशोधन केन्द्रका चारै वटा पोखरीमा माछा पालिएको र परिसरभित्र बाख्रा पालन भइरहेको पुष्टि भएको अख्तियारका एक अधिकृतले जानकारी दिए ।
स्थानीयवासीका अनुसार एशियाली विकास बैंक र नेपाल सरकारको लगानीमा फोहोर पानी प्रशोधन गर्ने उद्देश्यले निर्माण गरिएको यस केन्द्रमा माछा वा बाख्रा पालन गर्न पाउने कानुनी प्रावधान छैन ।
तर, चारवटै पोखरीमा विभिन्न जातका माछा पालिएको र परिसरभित्र ठूलो संख्यामा बाख्रा राखिएको पाइएको छ । अख्तियारका अधिकारीका अनुसार माछा पालन गर्नकै लागि केन्द्रको प्रशोधन प्रक्रिया नै रोकिएको देखिन्छ ।
महानगरपालिकाका सूचना अधिकारी सुनिल कर्णले भने उक्त घटनाबारे आफूलाई कुनै जानकारी नभएको दाबी गरे । उनले केन्द्रको सुरक्षाका लागि २४ घण्टा कर्मचारी खटाइएको स्वीकार गरे पनि “बाख्रा र माछा कसले पाल्यो, कसको निर्देशनमा पालियो भन्नेबारे जानकारी छैन,” भने ।
करिब १० विघा क्षेत्रफलमा फैलिएको उक्त पानी प्रशोधन केन्द्र एशियाली विकास बैंक, नेपाल सरकार, नगर विकास कोष र वीरगन्ज महानगरपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको हो ।
१२ करोड रुपैयाँ लागतमा बनेको परियोजनामा एशियाली विकास बैंक र नेपाल सरकारको ८१ प्रतिशत, नगर विकास कोषको ११ प्रतिशत र वीरगन्ज महानगरपालिकाको ८ प्रतिशत लगानी रहेको छ ।




