सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका २ संग्रामपुरस्थित इलाका प्रहरी कार्यालयले सीमा निगरानीका क्रममा ३१ केजी गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सीतामढी जिल्ला थाना बेला पिपरा ग्राम मुझैलियाका ईजरायल अन्सारी रहेका छन् ।
उनी पोकामा राखेको गाँजा भारततर्फ लैजाँदै गर्दा नियन्त्रणमा लिइएका थिए । ईलाका प्रहरी कार्यालय संग्रामपुरका इन्चार्ज अजय बहादुर क्षेत्रीको नेतृत्वमा भएको निगरानी र सक्रिय ड्युटीका कारण छोटो समयमा तीन जना चोरीमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन् ।
यसै क्रममा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको किराना सामान भन्सारमा बुझाइएको छ । स्थानीयवासीले पनि क्षेत्रीको कडा निगरानी र जिम्मेवार कार्यशैलीले चोरी तथा तस्करी नियन्त्रणमा प्रभाव परेको बताएका छन् ।
‘अब हामी साँच्चै सुरक्षित महसुस गर्छौं । क्षेत्री जस्ता इन्चार्ज आएपछि अपराधीहरू पनि सतर्क हुन थालेका छन् ।’ एक स्थानीयले बताए । संग्रामपुरमा भएको यस पक्राउ र सक्रिय निगरानीले सुरक्षामा नयाँ अध्याय सुरु गरेको स्थानीयवासीहरूले बताएका छन् ।




