धनुषा । जनकपुरस्थित एक सुनचाँदी पसलमा प्रहरीले गरेको छापामारीबारे विभिन्न भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले त्यसबारे आफ्नो पक्ष स्पष्ट पारेको छ ।
प्रहरीका अनुसार असोज ३१ गते जनकपुरधाम उपमहानगरपालिका ४ सोनारपट्टी गल्लीमा संजय ठाकुरले सञ्चालन गर्दै आएको नाम नखुलेको सुनचाँदी पसलमा अवैध चाँदी कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मारिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी गणेशबहादुर बमका अनुसार, सो छापामारी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारासँग समन्वय गरेर गरिएको हो । सो क्रममा सुनचाँदी व्यवसायी संघका अध्यक्षको उपस्थितिमा कानुन बमोजिम चेकजाँच गरिँदै थियो ।
तर चेकजाँच भइरहेकै समयमा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा करिब डेढ सय मानिस जम्मा भई प्रहरीले कार्यरत टोलीलाई घेरा हालेर ढुंगा–मुढा प्रहार गरेको प्रहरीले जनाएको छ ।
सो क्रममा प्रहरीका १० जना घाइते भएका छन् भने प्रहरीको सञ्चार सेट समेत खोसिएको र सवारीसाधनमा तोडफोड गरिएको बताइएको छ । प्रहरीले भिड नियन्त्रणका लागि सामान्य बल प्रयोग गरिएको र त्यस क्रममा कुनै अत्यधिक बलप्रयोग नभएको स्पष्ट गरेको छ ।
प्रहरीका अनुसार कानुनले कुनै पनि स्थानमा शंकास्पद गतिविधि देखिएमा नेपाल प्रहरीले आवश्यक चेकजाँच र खानतलासी गर्न पाउने अधिकार दिएको छ, र सोही कानुनी अधिकार अन्तर्गत उक्त कारबाही गरिएको हो ।
छापामारीका क्रममा बिल–बिजक नभएको र गैरकानुनी रूपमा कारोबार गर्न राखिएको चाँदीजस्तो देखिने अन्दाजी ७.४३६ किलोग्राम (खामसहित) वस्तु बरामद गरी आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीको भनाइ छ ।
प्रहरीले सो घटनामा संलग्न व्यक्तिहरूविरुद्ध कानुन अनुसार आवश्यक कारबाही अघि बढाइने चेतावनी दिएको छ । साथै, जिम्मेवार राजनीतिक दल र सञ्चार माध्यमहरूलाई वास्तविकता बुझी तथ्यपरक समाचार सम्प्रेषण गर्न समेत आग्रह गरेको छ ।




